.
विचार विश्लेषण,
माओवादीमा भूमिकाको लडाइँ
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 18 June 2012
नेपाली सर्वहारावादी क्रान्तिलाई बुझाउन प्रधानमन्त्री भट्टराई कहिलेकाहीँ ३ सय वर्ष पुरानो क्रुसोको कथा हाल्छन् र माओवादी ‘साम्राज्यवाद र प्रतिक्रान्तिरूपी समुद्रको एक्लो टापुमा उभिएको' तर क्रुसोजसरी नै एक दिन त्यो टापुबाट बाहिर निस्कने विश्वास व्यक्त गर्छन्।
यद्यपि कथा हाल्नु र वास्तविकताको सामना गर्नु फरक विषय हुन्। दसवर्षे 'जनयुद्ध' र साढे छ वर्षको सार्वजनिक राजनीतिका क्रममा एकीकृत माओवादीभित्र पटक पटक उत्कर्षमा पुगेको कलह केलाउने हो भने पार्टीभित्र बुद्धिजीवी भनेर चिनिने यी पिएचडी प्रधानमन्त्रीले हालेको कथा असम्भवजस्तै लाग्छ। माओवादीलाई समुद्री टापुमा एक्लै उभिएको क्रुसो नै मान्ने हो भने यो अहिले ‘प्रकृति-जनावरसँग' होइन, आफैंसँग लडिरहेको छ। आफैंभित्र जुधिरहेको क्रुसो समुद्री टापुबाट कसरी बाहिर निस्केला?
संसारभरका कम्युनिस्ट पार्टीजसरी नै वैचारिक प्रस्टतालाई महत्वपूर्ण मान्ने माओवादीभित्र अहिले चलिरहेको घम्साघम्सी विचारभन्दा बढी भूमिकाको लडाइँ भन्दा अन्यथा हुँदैन। विचारको लडाइँ तार्किक निष्कर्षमा टुंगिन सक्छ तर भूमिकाको पौंठाजोरी सितिमिति अन्त्य हुँदैन। र, आफैंभित्रको लडाइँ नसकी माओवादीरूपी क्रुसो एक्लो टापुबाट बाहिर निस्कने कल्पना गर्न सकिँदैन।
एकीकृत माओवादीमा तीन महत्वपूर्ण पात्र छन् र तीनैजना भन्छन् एउटा, गर्छन् अर्कै। उनीहरूको मनमा एउटा कुरा हुन्छ, बाहिर त्यसलाई सैद्धान्तिक जलप लगाएर बेग्लै रूपमा प्रस्तुत गर्छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड' लगातार २५ वर्षदेखि पार्टीको सत्तामा छन् र सकेसम्म सत्ता छोड्न नपरोस्झैं गर्छन्। प्रकटमा भन्छन्, ‘पार्टीभित्रको विवाद मिलाउन म जस्तोसुकै त्याग गर्न तयार छु, अध्यक्षको कुर्सी पनि छाड्दिन्छु।'
उपाध्यक्ष मोहन वैद्य ‘किरण' माओवादी अध्यक्ष बन्न चाहन्छन् र पार्टी हाँक्ने लालसा पालेर बसेका छन्। प्रकटमा भन्छन्, ‘सामन्तवाद र साम्राज्यवाद/विस्तारवादको विरोधमा नयाँ जनवादी गणतन्त्र स्थापना गरी समाजवाद र साम्यवादको दिशामा अघि बढ्ने कार्यदिशा भए पनि संस्थापन पक्षले पार्टीलाई संसदवादी तथा सुधारवादी धारमा फसाउँदै आएको छ।' उनको सैद्धान्तिक जलपको सार भने ‘अध्यक्षज्यू, तपाईंले सक्नुभएन, कि म चलाउँछु, नत्र पार्टी फोर्छु' भन्ने नै हो।
तेस्रा पात्र प्रधानमन्त्री भट्टराई वैद्यसँग मिलेर प्रधानमन्त्री बने, दाहालसँग मिलेर वैद्यलाई पाखा लगाए र अहिले दाहाल-वैद्य मिल्लान् कि भनेर चिन्तित देखिन्छन्। एकता बैठकहरूमा जान भ्याइरहेका छैनन्। अहिले प्रधानमन्त्रीको कुर्सी नै उनलाई प्यारो छ। प्रकटमा भन्छन्, ‘राष्ट्रिय सहमति हासिल हुनासाथ म राजीनामा गरिहाल्छु।'
यी तीन महŒवपूर्ण पात्र र एक दर्जन जति सहायक पात्र कुनै न कुनै रूपमा भूमिकापूर्ण हुने प्रयासको जड नै अहिलेको माओवादी विवाद हो। अन्य नेता-कार्यकर्ताको नाम त भूमिका खोज्ने क्रममा सैद्धान्तिक लेपन लगाउनुपर्यो भने मात्र आउँछ। उनीहरूको मर्म कसले बुझ्ने?
‘हामीलाई पनि भूमिका देऊ'
अहिले वैद्य पक्षले चाहेको विगतमा जे हुनु भइगयो, तिनमा लिखित आत्मालोचना र त्यस्ता गल्ती-कमजोरी पुनरावृत्ति नहुने प्रतिबद्धतासहितको प्रस्ताव दाहाल पक्षबाट आओस् भन्ने हो। माओवादी अध्यक्षका रूपमा दाहाल र पार्टीका प्रधानमन्त्रीका रूपमा भट्टराईले गरेका गल्ती र कमीकमजोरी नदोहोर्याउने प्रतिबद्धता गर्नु भनेको अध्यक्ष र प्रधानमन्त्रीको कुर्सी खाली गरिदिनु हो। वैद्य र रामबहादुर थापा ‘बादल'ले अघिल्लो साता दाहाल पक्षलाई दिएको एकता प्रस्तावको छबुँदे जवाफ सर्वसाधारणले नबुझ्ने, क्लिष्ट र बोझिल छ तर त्यसको सार स्पष्ट छ- हामीलाई पनि भूमिका देऊ। टाढा जानु पर्दैन, दुई साताअघि वैद्य पक्षका थिंक ट्यांक स्थायी समिति सदस्य नेत्रबिक्रम चन्द ‘विप्लव'ले वैद्यलाई अध्यक्ष बनाउन र बादललाई प्रधानमन्त्री बनाउन दाहाल र भट्टराई तयार भए पार्टी नफुट्ने बताएका थिए।
२०४३ सालको सेक्टर काण्डमा आफ्नो गल्ती महसुस गर्दै आत्मालोचनासहित वैद्यले नेकपा मशालको महामन्त्री पद छाडेपछि पार्टीमा उनका चेला दाहालले रिक्त स्थान भरेका थिए। ४३ सालको चुनावमा वैद्यले पार्टीमा निर्णय नै नगराई प्रहरीचौकीमा विस्फोट गर्न निर्देशन दिएपछि यसको विरोध भएको थियो जसलाई सेक्टर काण्ड चिनिन्छ। त्यही मशाल नै अहिलेको माओवादी हो। त्यही पार्टीमा अहिले वैद्य अढाइ दशकअघि गुमेको आफ्नो भूमिका खोजिरहेका छन् जसमा माओवादीका हस्तीहरू बादल, देव गुरुङ, विप्लव र सिपी गजुरेल ‘गौरव'ले सघाइरहेका छन्। असार २ गते बौद्धमा सुरु भएको राष्ट्रिय भेलामा पुरानो पार्टीमा भूमिकाको सम्भावना कमजोर देखेका वैद्यले नयाँ पार्टीमार्फत नै समाजमा आफ्नो भूमिका खोज्ने जानकारी दिएका छन्।
अघिल्लो साता मंगलबार वैद्य निवास गोंगबुमा दुवै पक्षका नेताहरूबीच भएको चार घन्टा लामो वार्तापछि बुधबार दाहालको हस्ताक्षरमा आएको सातबुँदे एकता प्रस्ताव पनि अमूर्त, क्लिष्ट र बोझिल नै थियो। भनिएको थियो- दाहाल र भट्टराई अध्यक्ष र प्रधानमन्त्री पद त्याग्न तयार छन्। लगत्तै के उल्लेख थियो भने अध्यक्षको पद त्यागअघि केन्द्रीय समितिको पूर्ण बैठक बोलाएर निर्णय गर्नुपर्छ भने राजनीतिक सहमतिपछि मात्र भट्टराईले कुर्सी छाड्नेछन्। माओवादी केन्द्रीय समितिको पूर्ण बैठकबाट दाहालको अध्यक्ष पद खुस्किनु र अहिलेको अवस्थामा राष्ट्रिय सहमति हासिल हुनु दुवै लगभग असम्भव छन्। स्पष्टै छ- ६२/६३ को जनआन्दोलनपछि साढे छ वर्ष लगातार विभिन्न कार्यकारी वा अकार्यकारी तर महत्वपूर्ण भूमिकामा रहेका दाहाल र भट्टराई पनि हत्पत्ति आफ्नो भूमिकाबाट बेदखल हुन चाहँदैनन्।
सोही पार्टीबाटै सभासद बनेका हरि रोका ‘माओवादीमा दर्शन बाँकी नरहेको र व्यक्तिवाद हाबी भएको' विश्लेषण गर्छन्। ‘सिद्धान्त र दर्शनको खडेरी छ, सबै आआफ्नो भूमिकामात्र चाहन्छन्,' उनी भन्छन्।
एमाले केन्द्रीय सदस्य तथा मार्क्सवादी अध्येता घनश्याम भुसाल त माओवादी जनयुद्धलाई नै ‘केही व्यक्तिको नेपाली समाजमा भूमिकाको खोजी'का रूपमा व्याख्या गर्छन् र अहिलेको माओवादी विवाद त्यही ‘भूमिका खोजी'कै निरन्तरता भएको टिप्पणी गर्छन्। ‘वैद्य पक्षको गुनासो प्रचण्डको मात्र भूमिका भयो, उनको मात्र व्यक्तित्व भयो, अरू व्यक्तित्व थिचिए भन्ने नै हो,' उनी भन्छन्। माओवादीका हकमा सिद्धान्तको खोजी ‘बुद्धिविलासमात्र भएको, व्यवहारिक नभएको' उनको विश्लेषण छ।
नारा सर्वसम्मतिकै थियो
सात जनाको माओवादी पदाधिकारी समूहलाई भूमिकाहीन बनाएर अध्यक्ष दाहाल वा प्रधानमन्त्री भट्टराईले कार्यदिशाभन्दा बाहिर गई पार्टी हाँकेको भन्ने वैद्य पक्षको प्रमुख आरोप थियो। अहिलेमात्र होइन, पुस अन्त्यतिर पनि यही कारण पार्टी विवाद उत्कर्षमा पुगेको थियो।त्यसबेला पार्टी संरचना कमजोर पार्दै एकल निर्णय गरेको आरोप दाहाल-भट्टराईमाथि थियो। माघ १ को केन्द्रीय समिति बैठकले पार्टीका तर्फबाट एक्लैदुक्लै होइन, सात जनाको पदाधिकारी समूहले नै निर्णय गर्नुपर्ने अनुमोदन गरेपछि विवाद तत्काललाई साम्य भएको थियो।
केन्द्रीय समितिको यो अनुमोदनपछि पार्टी विवाद साम्य भएको केही दिन नबित्दै पार्टी शीर्ष नेताका रूपमा अध्यक्ष दाहाल र प्रधानमन्त्रीका रूपमा भट्टराईले राष्ट्रिय मुद्दामा एकपछि अर्को निर्णय गर्न थालेपछि वैद्य, गुरुङ, गजुरेललगायत पदाधिकारी भूमिकाहीन भएका थिए। साथै, आक्रोशित पनि।
राष्ट्रिय भेला भर्सेस विस्तारित बैठक
संविधानसभा विघटनयताको झन्डै तीन सातामा माओवादीको अन्तरसंघर्ष सम्भवतः अहिलेसम्म कहिल्यै नदेखिएको चर्को रूपमा प्रकट भएको छ। प्रधानमन्त्री भट्टराईले गरेको निर्वाचन घोषणा र अध्यक्ष दाहालले त्यसलाई समर्थन गर्दै दिएको अभिव्यक्ति वैद्य पक्षका लागि आलोचनाको विषय बनेको छ। यसबाहेक चारबुँदे तथा सातबुँदे सहमति, चाबी हस्तान्तरण, बिपा सम्झौता, जग्गा फिर्तालगायतमा वैद्य पक्षको असन्तुष्टि एकमुष्ठ रूपमा बाहिर आएको छ। दाहाल-भट्टराईले गरेका यी निर्णयमा वैद्य पक्षको कुनै भूमिका नै रहेन।
वैद्य पक्षले ‘फुट्न पनि सक्ने' भन्दै तय गरेको राष्ट्रिय भेलाको दिन सन्निकट हुँदै गएपछि दाहाल पक्ष एकताको भगीरथ प्रयत्नमा लागेको थियो। लागिरहेकै छ। देशभरिबाट राज्य समिति स्तरका हजारभन्दा बढी कार्यकर्ता भेला गरेर संस्थापना पक्षका ‘गल्ती र कमी-कमजोरी' छ्याङब्याङ पार्ने वैद्य पक्षको टक्करमा दाहाल पक्षले मध्यअसारमा केन्द्रीय समितिको विस्तारित बैठक गने योजना सार्वजनिक गर्यो।
अघिल्लो साता दाहालको एकता प्रस्ताव, वैद्यको जवाफ र फेरि दाहाल पक्षबाट आएको प्रतिक्रियाले माओवादीका दुवै विचार समूहको नेतृत्व एकताका लागि सकेसम्म लचिलो बन्ने संकेत देखिएको छ तर एकता प्रक्रिया र छलफल कुनै निर्क्योलमा नपुग्दै दुवै पक्षले शक्ति प्रदर्शन र दम्भको राजनीतिलाई निरन्तरता दिएका छन्। माओवादी संस्थापन पक्षले शुक्रबार खुलामञ्चमा गरेको सभामा वैद्य आएनन्, आउने कुरै पनि भएन। वैद्य पक्षले शनिबार थालेको राष्ट्रिय भेलामा वैद्यले नयाँ पार्टीको नामसहितको प्रस्ताव ल्याउने सार्वजनिक भइसकेको छ। उनको प्रस्तावअनुसार नयाँ पार्टीको नाम 'क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी वा नेपाल कम्युनिष्ट पार्टी- माओवादी (क्रान्तिकारी) हुनेछ।
दुवै सम्भावित नाममा विशेष जोड दिँदै राखिएको 'क्रान्तिकारी' शब्दले बुझाउँछ- खुला राजनीतिमा आएपछिको साढे छ वर्षमा एकीकृत माओवादी संस्थापना पक्षले लिएको गैरक्रान्तिकारिताको बाटो वैद्य पक्षलाई चित्त बुझेको छैन। क्रान्ति र गैरक्रान्ति धारका यी दुई विचार समूहको झगडाले वर्तमान नेपालको संक्रमित र तरल राजनीतिलाई भने प्रसस्त असर पुर्याएको छ।
मनोज दाहाल
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




