.
समाचार,
डलरसंगै सुनको भाउ पनि बढ्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 22 May 2012
काठमाडौं, जेठ १० - अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपनि डलर महँगो भएपछि नेपाली बजारमा सुनको मूल्यवृद्धि भएको छ। डलरको भाउ बढेर नेपाली मुद्राको घटेपछि आयात गर्दा लागत वृद्धि भई मूल्यमा असर परेको हो। सोमबार नेपाली व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १ हजार ५ सय ९७ डलर मूल्य रहेका बेला भाउ तोकेका थिए। मंगलबार भने प्रतिऔंस ७ डलर कम भई मूल्य १ हजार ५ सय ९० डलर कायम भएका बेला भाउ तोकिएको हो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका बेला भाउ तोकिएपनि मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। मंगलबार नेपाल सुनचाँदी व्यवसायी संघले तोलाको ५५ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ। सोमबार भने भाउ तोलाको ५५ हजार रुपैयाँ मात्र थियो।
'डलर मजबुँद हुदा सुनको मूल्य घट्छ,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'नेपालमा भने आयात खर्च बढ्ने हुदा मूल्यवृद्धि भएको हो।' डलर महँगो भएपछि नेपाली रुपैयाँसँग डलर साट्दा महँगो पर्न जान्छ। यसले आयातित वस्तु महँगा पर्छन्।
सोमबार १ डलर बराबर ८७.८० रुपैयाँ थियो। यो भाउ बढेर मंगलबार भने ८८.२५ रुपैयाँ पुगेको छ। डलरको तुलनामा नेपाली एवं भारुको मूल्य कमजोर भएपछि भाउ बढाउनु परेको व्यवसायीले बताएका छन्।
व्यवसायीहरुले मंगलबार भाउ तोकेपनि कारोबार भने खासै भएन। बन्दका कारण कारोबार हुन नसकेको हो। अहिले बैंकहरुमार्फत दैनिक २० किलो सुन आयात हुदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझ भने सुनको मूल्य प्रतिऔंस १ हजार ५ सय ८६ डलर रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपनि बुधबार डलरको भाउ ८८.२३ रुपैयाँ भएकाले भाउमा खासै कमी नआउने व्यवसायीहरुले बताएका छन्। नेपाली बजारमा दैनिक ३५ किलो सुनको माग रहेको छ। सुनको भाउ बढेपनि मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ।
नेपाली बजारमा चाँदीको मूल्य मंगलबार तोलाको १ हजार ३५ रुपैयाँमा कारोबार भएको छ। सोमबार पनि चाँदीको यही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भने चाँदीको मूल्य सोमबार प्रतिऔंस २८.७१ डलर रहेको थियो। यो घटेर मंगलबार २८.४० डलर भएको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





