.
विचार विश्लेषण,
सबै चाखियो, अब चर्को भो, आध्यात्मिक नेतृत्वलाई पालो दिउँ
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
जनताले नेपालको शासन अन्य भाइ भारद्वारलाई सुम्पनु उचित सम्झेनन् र उनको याद लिएर आफैले शासन चलाउने भनि २०६२/०६३ मा शसक्त आन्दोलन गरी ज्ञानेन्द्र शाहलाई पाखा लगाए । त्यसपछिका दिनहरु र समयहरुमा पनि यस देशका जनताको लागि कम्ति पिडा दायक रहेनन् । शासन परिवर्तन भएर गयो । शेरमुनियल राजा राख्ने कि नराख्ने भन्ने छलफल मै केही समय बिताएको गणतान्त्रिक सरकारले अन्ततोगत्वा राजालाई पदच्युत गर्न सफलता पाएको इतिहासको पछाडिका दिनहरुमा जनताको उच्च मूल्यांकन र देशलाई विकासको गतिमा अग्रसर गराउनुको सट्टा सबै राजनीतिक दल र तिनका नेताहरु कुर्सि मोह, धन मोह, स्त्री मोह, विदेश मोह र होटल प्यालेस मोह भन्दा बाहिर निस्कन सकेनन् ।
कर्मठ युवाहरुलाई पाखा लगाउँदै विदेशी माटोमा विदेशीको गुलामी गर्न पठाउने शिलशिला झन झन चर्किन थाल्यो । असल सोंच र असल बिचार हुनेहरुलाई अनेकन लान्छाना लगाएर पन्छाउने काम हुँदै गयो । नेतृत्वको कुरा आउना साथ वृद्ध नेताहरु कपालमा कालो मेहन्दी लगाइ युवा नेताको स्थान ओगट्न पनि पछि परेनन् । आफूलाई युवाको दर्जामा स्थापित गर्न डान्सबारका युवतिसंग नचाउन पनि पछि परेनन् । जब कुनै अप्ठारो प्रश्नको प्रतिउत्तर गर्नुपर्ने हुन्छ त्यो समयमा ब्लायक लेभल र रोयल स्टिजको चुस्कि मारेर जता मन लाग्यो उतै बोल्न पनि चुकेनन् । मन्त्रीको कुर्सिमा बस्ने वित्तिकै करोडौंको घोटला र हत्यामा सामेल भइ आफूलाई मिडियामा हिरो बनाउनको लागि निकै प्रयत्नशिल रहे । चोटिला र पेचिला कुराहरुमा सोझा साझा निमुखालाई थम्थम्याइ गद्दिमा राजारोहण हुन पछि हटेनन् । आन्दोलनको नाममा देशको चौंथो शक्ति भनि चिनिने पत्रकार र मिडियामा धावा बोलाउन पनि केही संकोच मानेनन् । जातीय भेदभाव हटाउने नाममा एकल जातीको जमात जोडि देशमा मिलि बसेका भाइहरुबीच फूट गराउन कुनै सन्देह नै मानेनन् । आज कुनै पनि क्षेत्रबाट सहि मूल्यांकन गर्ने हो भने कुनै पनि दल वा नेताले देश र जनताको भलो हुने कार्य गरेको तथ्य पाइदैन । ५ लाखको लगानीमा बन्ने संरचनालाई १ करोडको बजेट तर्जुमा गरी ९५ लाखसम्म आफ्ना छोरी नातिको नाममा राख्न केहि जस्तो मानेनन् ।
आज देशले प्रशव वेदनाको सामना गरिरहेको अवस्था छ । यस समयमा असल डाक्टरको खोजी गरी देशको शासनोपचार नगराएमा भोलिको नेपालको अनुहार हेर्ने सपना सपनामै सिमित हुने कुरालाई मध्यनजर गरी अब एउटा यस्तो धार्मिक चिन्तन र पाप गर्नबाट डराउने व्यक्तित्वलाई जन्माउनु आवश्यक ठहरिएको छ । कुनै पनि त्यस्तो चिन्तन भएको व्यक्तिलाई अग्रसर हुन नदिनको लागि आज सम्पूर्ण शक्तिहरु एकजुट भएका छन् । यस देशमा सम्पत्ति हुनेहरुले जे पनि खरिद गर्न सक्दछ भन्ने प्रमाणहरु हाम्रा सामु जिवन्त नै छन् । सरकार, न्याय, कानुन, घरजग्गा, विदेश, भाइभारद्वार, पद, उन्नति, नाम, ऐश्वर्य, सम्मान र सच्चाइ समेत धनले खरिद गर्न सकिने शिलशिलाको अगाडि धर्म, अर्थ, काम, मोक्ष जस्ता साधनमा कृति कमाउने साधकहरु संधैको हेँलाई भएर रहनु परेको छ । धार्मिक बिचारलाई अगाडि ल्याउनेहरुलाइ यहाँ ठगीको तक्मा लगाउछन् । देश र सुशासनको परिकल्पना गर्नेहरुलाई यहाँ विरोधीको संज्ञा दिन्छन् । असत्य र अत्याचारीलाई नष्ट गराउन खोज्नेहरुलाई यहाँ बलात्कारीको पोष्टरमा चिप्काउँछन् । राष्ट्र र राष्ट्र हितको लागि संघर्ष गर्नेहरुलाई यहाँ देशद्रोहीको धब्बा लगाउँछन् । यस्तो कुदृष्टि खेल रच्नेहरुले संधै जनताको वाहा वाहा पाएका छन् र हौसल्लिएका छन् ।
अबको शासन कुनै पनि पार्टिको हकमा जानु देशलाई दुर्दशामा धकेल्नु नै हो । अबको शासन धार्मिक चिन्तन र धार्मिक बिचारमा परिपक्क भएका व्यक्तित्वको हातमा जानु पर्दछ । जनताले बुझ्नु पर्ने सुशासनको अर्थ के छ भने– देशमा दुराचारी, भ्रष्टाचारी, बलात्कारी, पापी, निर्दयी, अराजकताको मानसिकतामा विलिन व्यक्ति जस्ता कयौं अवगुणी व्यक्तिहरुको हात संधै माथि पर्नुको कारण सहि सत्य व्यक्तित्वलाई निराकरण गरिन्छ भन्ने तथ्यलाई आत्मसात गरिनु पर्दछ । रावणको राज्यमा आफ्नै भाई भिविषणलाई देशद्रोही भन्ने गरिन्थ्यो । किनभने उनी सत्वीचार र सत्गुणी व्यक्ति थिए । पाण्डवको राज्यमा धृतराष्टका भाई विदुरलाई राष्ट्रघातीको संज्ञामा राखेका थिए । हिरण्यकश्यपुको शासनकालमा प्रह्लादलाई पिता विरोधी भनि संवोधन गरिन्थ्यो । जब जब पापको शासनकाल सुरु हुन्छ तबतब धर्मात्मा र राष्ट्र चिन्तन गर्ने व्यक्तित्वलाई नकारात्मक दृष्टिकोणले हेरी त्यसको अस्तित्वलाई विलिन गराउने चेष्टा गरिंदै आएका ऐतिहासिक धर्मशास्त्रहरुमा वर्णन गरेको पाइन्छ ।
आज धर्मशास्त्रको गणनानुसार यो कलियुग हो भनिन्छ र कलियुगको पनि सिमा समाप्त हुँदै जाने क्रममा यस्तै यस्तै अधर्म र असति व्यक्तित्वको हात माथि उठ्न जाने र त्यसको अन्त्य भयंकर हुने कुरालाई भगवान श्रीकृष्णले अर्जुन गीतामा प्रष्ट्याउनु भएको सन्दर्भ हामी गीता पाठ गर्ने सबैलाई जानकारी नै छ । यस्तै यस्तै परिपोषण हुँदै विश्वमा बढेको अत्याचार र कुकर्महरुको गतिले आज नेपाल र नेपालीलाई पनि अछुत हुन दिएको छैन । आजसम्म कुनै पनि देशमा असत्य र पापले डेरा नजमाएको ठाउँ भेटिंदैन । विकासको गतिलाई ब्रेक लगाउने, जनतालाई कठपुतली बनाइ सडको सिकार बनाउने, देशको लागि गर्छु भन्ने धार्मिक व्यक्तित्वलाई ठगीको बिल्ला पहियाउने काम नेपाली भूमिमा हुँदै आएका छन् ।
आफ्नो कुर्सि बचाउनको लागि आफ्ना प्रजालाई एकापसमा फुट ल्याउने सकुनीको कुटिल खेल रचिंदै छ । आत्मा ग्लानी हुनुभन्दा पनि आफूलाई सर्बश्रेष्ठ युगान्तकारी निष्ठावान शासकको रुपमा परिचीत भएको महशुस गर्ने व्यक्तिहरुको भीडमा हराउँदै गएको धर्म र संस्कृति, रितिरिवाज, जातजातिलाई एकसुत्रमा बाँध्न कम्मर कसेका विभिन्न धार्मिक गुरुहरु, जनक राजा जस्ता निष्ठावान र प्रजावत्सल व्यक्तित्व र आफ्ना जनताको लागि आफूलाई बलिदान गर्न सक्ने राजा राम जस्ता आदर्शवादी पुरुषहरुको खोजी गरिनु हामी जनताको परम दायित्व हो । पुरानैशैलि र पुराना विचारधाराका व्यक्तिहरुलाई पटक पटक देशको शासन सुम्पनु भनेको देशलाई उन्नतिभन्दा अधोगति तर्फ धकेल्नु हो । किनभने पुराना बिचारधाराका व्यक्तित्वहरुले आफ्नो व्यक्तिगत उन्नतिको लागि गर्न सक्ने सबै खालका तालमेल मिलाउन जानेका हुन्छन् । जस्ले गर्दा कहाँबाट कसरी जनताका आँखामा छारो हाल्ने र कसरी देशको लागि जम्मा भएको रकमलाई आफ्नो पारिवारीक विकासमा खर्च गर्न सकिन्छ भन्ने कुचाल चाल्ने योजनाहरु तहगत रुपमा गर्न सक्ने क्षमता लिएका हुन्छन् ।
यता चुनाब नै गरेर देश र जनताको समस्या समाधान हुन्छ भनि मुर्ख मुढ बिचार लिएर जनसमक्ष आउने भनिएको यो खेल सत्ता बचाउने कुटिल चाल हो । देशको लागि गर्छु भन्नेहरुले चुनाव नै किन रोज्नु पयो ? सबै दलका नेताहरुको समझ्दारीमा सहमतिय सरकारको सृजना गरी देशलाई निकास दिनु आजको आवश्यकता भएको जान्दा जान्दै पनि फेरी चुनावी प्रकृयालाई रोजी अर्को प्रशव पिडा देश र जनतालाई दिनु सान्दर्भिक सिद्ध हुदैन । जबसम्म रोटी पकाउने तावा पातलो नै रहिरहन्छ तबसम्म रोटी डढ्न छाड्दैन । जबसम्म दुधमा पानी मिसाइन्छ तबसम्म बाक्लो दुधको स्वाद चाख्न पाइदैन ।
तसर्थ जबसम्म देशभित्र सिर्जीएका मुद्दाहरुलाई मूर्त रुप दिएर राजनीतिक दलहरु एक सुत्रमा आउदैनन् तबसम्म पचासौं चुनाव गरेपछि राष्ट्रको लागि निकास दिन असक्षमता नै हुन जान्छ । धार्मिक चिन्तन, मानव चिन्तन, प्रकृति चिन्तन र देशको चिन्ता गर्ने जस्ता व्यक्तित्वहरुलाई नजरअन्दाज गरिनु देश र जनताको ठूलो भुल हुनेछ । देशलाई अब शासनले होइन धर्म र संस्कृतिले बचाउनु पर्ने बेला खड्किएको छ । विदेशको नुनले होइन नेपालको सिधेनुनको स्वाद लिनु पर्ने बेला आएको छ । विदेशी फेशन होइन स्वदेशमा बनेका कपडाको पहिरन चाहिएको छ । विदेशबाट झिकाइने रक्सी होइन गाईको शुद्ध दुधको सेवन अनिवार्य भएको छ । विदेशी जडिबुटि र औषधि होइन नेपाली धर्तिमा उम्रिएका नेपाली जडिबुटिजन्य बस्तुहरुको अपरिहार्यता महशुस गर्नु पर्दछ ।
युग परिवर्तन गर्नु छ भने मानव चरित्रबाट सुरुवात गरिनु पर्दछ । जबसम्म व्यक्ति समाज र सम्पूर्ण जनतामा धर्मप्रति आस्था रहँदैन तबसम्म कुनै पनि कार्य सिद्ध गर्न सम्भव हुदैन । अहिले परिस्थिति भनेको आफ्नो राष्ट्रको सिमा सुरक्षा र विकासले जनतालाई उच्च आर्थिक उन्नती तिर लैजानु नै हो अन्यथा भोलीका दिनहरुमा छोरा नातिहरु विदेशीको दैलो दैलोमा भिख माग्दै हिंड्नु पर्नेहुन्छ । सबै शासक एउटै हुन्छ भनि वाक्क परेका जनताहरुले अब पुराना सोचलाई भताभुंग पारी नयाँ सोंच र धार्मिक विचारलाई आत्मसम्मान गर्नसक्ने व्यक्तित्वलाई अग्रसर पारि एक मौका धार्मिक चिन्तनलाई दिने हो कि ? सुरज गिरी
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




