.

कसले गर्‍यो बमको हत्या?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
जहाँ शंका, त्यहीँबाट अनुसन्धान।' गम्भीर होस् या सामान्य अपराध, अनुसन्धान अधिकारीले बाटो पहिल्याउन अपनाउने विधि यही हो। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिका उच्च प्रहरी अधिकारी अहिले त्यही शंकालाई थुप्राइरहेका छन्, महानगरीय प्रहरी आयुक्त कार्यालयमा बसेर।


हत्यालाई व्यक्तिगत कारणतिर जोडेर तथ्य संकलनमा केन्द्रित छन्, अनुसन्धान सहयोगी। प्रहरीको एक टोली अहिले बमको सम्भावित दुश्मनहरुको सूची बनाउनमै व्यस्त छ।
अर्को टोली व्यावसायिक कारण उत्पन्न हुनसक्ने दुश्मनीको सूचीमा केन्द्रित छ। उनीहरु न्यायाधीश बमले आफ्नो कार्यकालमा गरेका ठूला तहका फैसला र त्यसबाट नकारात्मक असर परेका व्यक्तिहरुको सूची बनाउँदैछन्।
यस्ता प्रकृतिका घटनामा संलग्न भइसकेका जेलभित्र र बाहिरका अपराधीको सूची संकलन र विश्लेषणको पाटो पनि छाडेको छैन प्रहरीले। हत्यालाई राजनीतिक रङ दिइएकाले त्यसलाई समेत अनुसन्धानको घेरामा राखेर विश्लेषण भइरहेकै छ।
'अहिलेसम्म हत्यामा संलग्न र हत्याको कारण यही हो भनेर खुलाउन सक्ने अवस्थामा पुगिसकेका छैनौं,' एक प्रहरी अधिकारीले भने, ' अहिले शंकाहरु भेला पारेर विश्लेषणमै छौं।'
पूर्व डिआइजी भरत जिसी न्यायाधीश बमको हत्यालाई संविधानसभामा विचाराधीन रहेका राजनीतिक मुद्दाहरुसँग जोडेर अनुसन्धान अगाडि बढाउनुपर्ने सुझाउँछन्।
संविधानसभाको म्याद सम्बन्धमा सर्वोच्च अदालतबाट भएका आदेश र सरकारले गरेको निर्वाचनसम्बन्धी घोषणाबारे अदालती प्रक्रियालाई अनुसन्धानको पाटो बनाउनुपर्ने उनको धारणा छ।
'हत्याको प्रकृति हेर्दा साधारण अपराधी संलग्न होइनन् भन्ने देखिन्छ,' उनले भने, 'पारिवारिक र व्यक्तिगत सम्बन्ध अनि विगतलाई पनि केलाउनु जरुरी छ।'
घटनाको प्रकृतिका आधारमा अनुसन्धान टिमका सदस्य गोली प्रहारमा संलग्न व्यक्तिको पृष्ठभूमिप्रति भने निष्कर्ष नजिक पुगेका छन्। परिचित र उच्च आत्मबल भएका व्यक्ति नै सुटर भएको उनीहरुको निष्कर्ष छ।
रणनीति निर्माण, स्थान चयन, आक्रमण र सुरक्षित हुने सबै पूर्व योजनापछि बममाथि आक्रमण भएकाले सामान्य दुश्मनीका आधारमा आवेगमा हत्या नभएको टिमको निष्कर्ष छ।
पूर्व तयारी, तयारीअनुसारको योजना निर्माण, सक्षम व्यक्तिको चयनपछिमात्रै योजना कार्यान्वयन गरिएको उनीहरुको भनाइ छ छ। हतियार सञ्चालनको तालिम प्राप्त, हतियारसँग पूर्ण बमका शरीरमा लागेका गोलीका आधारमा सुटर कहाँ कहाँ गोली लाग्दा व्यक्ति बाँच्ने सम्भावना न्यून हुन्छ भन्ने समेत जानकार देखिए। छाती, घाँटी र टाउको सबैभन्दा संवेदनशिल अंग हुन्। सुटरले बमका त्यही अंगलाई बढी टार्गेट गरेका थिए। र, सफल पनि।
पूर्व एआइजी राजेन्द्र बहादुर सिंहले न्यायाधीश बमको हत्या घटनाको प्रकृतिले निकै रहस्यमय भएको बताए। व्यक्तिगत कारण, पेशागत जिम्मेवारी निर्वाहबाट निम्तने जोखिमका कारण उनको हत्या भएको नदेखिएको उनको विश्लेषण छ।
पेस्तोलसहितको बडीगार्डसँगै हुने पूर्वजानकारी हुँदाहुँदै आक्रमण गरिएको र पहिलो प्रहार बडीगार्डमाथि नै गरिएको घटना प्रकृतिले समेत निष्कर्षमा पुग्न सहज भएको समितिका एक सदस्यले बताए।
बमको हत्यालाई इस्लामिक संघका महासचिव फैजान अहमदको हत्यासँग तुलना गरेर समेत विश्लेषण गरिएको छ। टार्गेट निकट गएर जसरी लगातार गोली हानेर फैजानको हत्या गरिएको थियो, बम आक्रमणको शैली पनि उस्तै भएको एक उच्च तहका सुरक्षा अधिकारीको भनाइ छ।
नेपालमा भएका केही घटनामा भारतीय सार्पसुटरको समेत संलग्नता खुले पनि बम हत्यामा भने त्यसको सम्भावना न्यून देखिन्छ। तर, अनुसन्धानमा यसलाई अस्विकार गरिएको भने छैन।
'सुटको प्रकृति र सुटरको क्षमताका आधारमा भारतीय अपराधी, सुरक्षा निकायका भगौडा वा पूर्व अथवा माओवादीका भगौडा, विस्थापित र अवकाश रोजेका व्यक्ति नै सुटर हुन्,' एक अधिकारीले भने, 'सामान्य हतियार चलाउने व्यक्ति यस्ता घटनामा संलग्न हुन सक्दैनन्।'
अनुसन्धान पद्धतिमा संशोधन
अनुसन्धान समितिका एक सदस्यका अनुसार घटनालगत्तै सम्भावित व्यक्तिहरुको सूची बनाएर हतार-हतारमा पक्राउ गरी अनुसन्धान थाल्ने परम्परागत अनुसन्धान पद्धति बम हत्यामा अपनाइएको छैन।
त्यस्तो पद्धति अपनाउँदा तत्काल प्रहरी एक्सनमा गएको सन्देश गए पनि अन्तत अनुसन्धानको निचोड फितलो देखिएका पूर्व अनुसन्धानबाट पाठ सिकेर बम हत्या अनुसन्धानमा तथ्य संकलन, शंकास्पद व्यक्तिको सूची निर्माण र विश्लेषणपछिमात्रै पक्राउ गर्ने रणनीतिमा छ प्रहरी।
प्रारम्भमा घटनास्थलमा दुईवटा मोटरसाइकलमा हत्याका योजनाकार आएको सूचना आए पनि अनुसन्धानबाट एउटा मात्रै मोटरसाइकल प्रयोग गरिएको र घटनास्थलमा दुई व्यक्तिमात्रै प्रयोग भएको प्रहरीको निष्कर्ष छ। मोटरसाइकलमा आएका दुवै जनाले सुट गरे या एकजनाले भन्ने निष्कर्ष निस्किएको छैन।
घटनास्थलमा दुवै व्यक्ति मोटरसाइकलवाट ओर्लिएका थिए। फायर भएका गोलीका संख्या भने पेस्तोलमा लोड हुनेभन्दा बढी भएकाले दुवै व्यक्तिसँग पेस्तोल भएको प्रहरीको आकलन छ।
घटनामा संलग्नहरुको पहिचानका लागि बम या बडीगार्ड नै सबैभन्दा भरपर्दो स्रोत भएको उनीहरुको आकलन छ।
बडीगार्ड असई महेश गिरी घटनामा गम्भीर घाइते भएका उनीसँग प्रहरीले हुलिया र घटनास्थलको यथार्थ विवरण लिन सकेको छैन। गिरीलाई तत्काल अप्रेसन थिएटरमा लगिएको र अप्रेसनपछि पनि आइसियुमा राखिएकाले विवरण संकलनमा कठिनाइ भएको हो।
उनको स्वास्थ्यमा सुधार आएलगत्तै महत्वपूर्ण तथ्य फेला पर्नेमा आशावादी छ, अनुसन्धान समिति। बमका अतिनिकट मित्र राम गिरीबाट समेत अनुसन्धानमा सहयोग पुग्नसक्ने निष्कर्ष निकालेको टोली उनको स्वास्थ्य सुधारको पर्खाइमा छ।

अपराधभित्रको राजनीति
न्यायाधीश बमको हत्यालाई राजनीतिक दृष्टिकोणबाट विश्लेषण गरिएको छ। अहिलेको अवस्थामा राज्य असफल छ र यहाँ कोही पनि सुरक्षित छैन भन्ने सन्देश दिन चाहनेसमेत सक्रिय भएको हुनसक्ने उनीहरुको आकलन छ।
संविधानबिनै संविधानसभाको विघटनले निम्त्याएको संवैधानिक संकट र सरकारले घोषणा गरेको चुनावप्रति प्रतिस्पर्धी दलको प्रतिक्रियाले बढाएको अन्योलमा कुनै राजनीतिक शक्तिले 'अपराधको खेल' खेलेको पनि हुनसक्छ।
वैध बाटोबाट सरकारलाई अप्ठ्यारो पार्न नसकेको अवस्थामा सत्ताबाहिरका राजनीतिक शक्तिले अपराधको सहयोग लिएका घटनाले समेत बम हत्याको आपराधिक घटनालाई राजनीतिक आँखाले हेर्नुपर्ने देखिन्छ।
केही वर्षअगाडि कोटेश्वरमा माओवादी नेता शक्ति बस्नेतमाथि भएको गोली प्रहारको घटना, ललितपुरको एजप्सन चर्चको बम विष्फोट, माओवादी मजदुर नेता शालिकराम जमकट्टेलमाथिको सांघातिक आक्रमण, जनकपुर बम विष्फोट, उपत्यकाका सार्वजनिक सवारी साधनमा शृंखलाबद्ध रुपमा राखिएको बमका घटना र बबरमहलमा भएको बम विष्फोटका घटना राजनीतिक उद्धेश्यका लागि गरिएको अपराधका प्रमाण हुन्।
जनकपुर बम विष्फोटमा राजनीतिक आवरणमा आपराधिक गतिविधिमा सक्रिय सन्तोष चौधरीको नाम सार्वजनिक भए पनि प्रहरी अनुसन्धानमै तराई केन्द्रित राजनीतिमा सक्रिय दलका केही नेताको सम्बन्धसमेत देखिएको थियो। तर, पुष्टि हुने प्रमाणको आधारमा ती नेताको नाम सार्वजनिक गरिएको छैन।
संयुक्त जातीय मुक्ति मोर्चाको नाममा विश्वक्रान्ति भनिने देवराज लामाको सम्पर्क र सम्बन्ध सत्ताधारी दलका प्रभावशाली नेता र पूर्व राजावादीहरुसँग रहेको खुलेको नै हो। शक्ति बस्नेतमाथि भएको गोली प्रहारको घटनाको अनुसन्धानमा एक मातासहितका सहयोगी पक्राउ परे पनि अनुसन्धानले योजनामा सक्रिय राजतन्त्रका पक्षधर केही नेताको संलग्नता देखिएको थियो।
जमकट्टेलको हत्या प्रयासमा पार्टीभित्रकै प्रतिष्पर्धी समुहको संलग्नता प्रहरीले खुलाएको थियो। एजप्सन चर्चमा भएको विष्फोटको अनुसन्धानका क्रममा राप्रपा नेपालका केही नेताको नाम पोलिएको थियो। उपत्यकामा सार्वजनिक बसमा बम राखिएको त्रास फैलाएको अभियोगमा पक्राउ परेकाहरु माओवादीका पूर्व लडाकु रहेको सार्वजनिक भएकै हो।
न्यायाधीश बमको हत्यालाई राजनीतिसँग जोडेर विश्लेषण गर्नु हतारो हुनसक्ने भए पनि तरल र अस्थिर परिस्थितिमा राजनीतिक स्वार्थ पूरा गर्ने दाउपेच हुनसक्ने पूर्व गृहमन्त्री भीम रावलको विश्लेषण छ।
'हत्याको कारण अनुसन्धानबाट खुल्ने हो,' रावलले नागरिकसँग भने, 'तर यो घटनाले जटिल राजनीतिक स्थितिको छिट्टै समाधान नगरिए मुलुक बहुआयामिक विपत्तिमा फस्ने संकेत भने हो।'
पूर्व एआइजी सिंह बमको हत्याको कारण अहिले नै यकिन गर्न सकिने अवस्था नभए पनि सबै विकल्प खुला रहेको बताउँछन्। हत्याको प्रकृतिका आधारमा ज्यादै संवेदनशिल घटना भएको बताउँदै उनले तत्काल सरकारले अन्योल मेट्नुपर्नेमा जोड दिए।
'यसै हो भन्न सकिने अवस्था छैन, जे पनि हुनसक्छ,' उनले भने, 'अहिलेको अवस्थामा सबै विकल्प खुला देख्छु।'
पूर्व डिआइजी जिसीले बमक हत्यालाई राजनीतिक दृष्टीकोणले विष्लेशण गर्न चाहेनन्। उनले भने 'सर्वोच्च अदालतको संविधान सभा, निर्वाचन आदीबारे गरेको आदेशसँग बमको हत्या जोडिए मुलुकका लागी ज्यादै दुर्भाग्यपूर्ण हुनेछ।'
सबैको ध्यान एकै विषयमा केन्द्रित भएको अवस्थामा ध्यान विकेन्द्रित गराउन सत्ताधारीले समेत अपराधमार्फत आतंक नमच्याउने होइनन्। 'अहिलेको अवस्थामा राज्यले यस्तो जोखिम मोल्दैन, आतंक मच्याउँदा सरकार आफैं कमजोर हुने हो,' नाम उल्लेख गर्न नचाहने एक सुरक्षाविज्ञले भने, 'राजनीतिक दलभित्र विभिन्न प्रकृतिका व्यक्ति भएकाले यो अस्थिरतालाई थप गम्भीर बनाउन चाहनेको संलग्नतालाई नजरअन्दाज गर्न भने मिल्दैन।'
बढ्दो अस्थिरतामा छिमेकी मुलुकका खुफिया एजेन्सीहरुसमेत खेल्ने गरेका घटनाका आधारमा उतातिर टेढो आँखा लगाउन सुझाउनेहरु पनि छन्। काठमाडौंमा भएका जमिम साह,फैजान अहमद हत्या, युनुस हत्या प्रयासजस्ता हाई प्रोफाइलका अपराधको योजना निर्माणमा भारतीय खुफिया एजेन्सीका केही सदस्यको सहकार्यका संकेत नदेखिएका पनि होइनन्।
व्यक्तिगत कारणबाहेकको अवस्थामा बमको हत्या भएको हो भने अनुसन्धानलाई त्यतातिर समेत मोड्न अपराध अनुसन्धानका अनुभवी एक पूर्व सुरक्षा अधिकारीले सुझाए।
'यसोभन्दा अतिरञ्जितजस्तो देखिन पनि सक्छ तर, सात वर्षअगाडि लेबनानमा भएको पूर्व प्रधानमन्त्रीको हत्या बिर्सनुहुन्न,' तिनले भने 'लेबनानमा अन्योल बढिरहेका बेला छिमेकी मुलुक सिरियाको गुप्तचर निकायको योजनामा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरारीको हत्या भएको राष्ट्रसंघको छानबिनमै देखिएको थियो।'

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर