.
प्रवास समाचार,
तमू समाज कतारद्वारा खेलाडीहरुलाई बधाई तथा सम्मान I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
दोहा - कतारवासी तमूहरुको साझा संस्था तमू समाज कतारले भलिवल खेलाडिहरुलाई अगष्ट २३,२०१२ का दिन एक कार्यक्रमको आयोजना गरी बधाई पत्रद्वारा सम्मान गरेको छ । तमू समाज कतारको संरक्षकत्वमा स्थापित तमू खेलकुद समिति अन्तर्गतका खेलाडीहरुले मुस्लिम धर्मालम्बीहरुको पर्व ईद अल फित्रको अवसरमा पाल्पाली सेवा समाज कतारले आयोजना गरेको मैत्रीपूर्ण भलिवल प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेकाले तमू खेलाडी टिमले नगद कतारी रियल २ हजार १ सय (नेपाली रुपैयाँ ५० हजारभन्दा बढी), ट्रफी र सबै खेलाडीहरुलाई प्रमाणपत्र प्राप्त गरेका छन् ।
तमु समाज कतारका अध्यक्ष बिमल तमूको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमको प्रमुख अतिथी गैर आवासिय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत तमू हुनुहुन्थ्यो । प्रमुख अतिथीको आशनबाट बोल्दै गैर आवासिय नेपाली संघ – राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष अमृत तमूले यसरी बधाई कार्यक्रमको आयोजना गरेर खेलाडी साथीहरुको सम्मान गरी हौसला प्रदान गरेकोमा तमू समाज कतारलाई धन्यवाद दिनुभएको थियो ।
राष्ट्रको नाम उँचो राख्ने कार्यमा तमू समाज कतारले हरेक क्षेत्रबाट, सँधै अग्रणी भूमिका खेलिरहेको बताउनु भयो । खेलकुदको क्षेत्रमा पनि तमू खेलकुद समिति कतारका साथीहरु एक दमै सक्रिय रहेको र भविष्यमा पनि यस्तै सक्रियता निरन्तर रहनेमा आफु विश्वस्त रहेको र आवश्यक परेको अवस्थामा एनआरएनए कतारले सक्दो सहयोग गर्ने पनि बताउनु भयो । साथै उहॉले हालका दिनहरुमा जस्तै भविष्यमा पनि कतारका स्थापित संघ संस्थाहरुसंग हातेमालो गर्दै नेपालीको शिर उँचो राख्ने कार्यमा सफलता मिलोस भनी शुभकामना दिनु भएको थियो ।
सम्मानित खेलाडीहरुको तर्फबाट कतारमा नेपाली समुदायमा चर्चित खेलाडी लेखनाथ लम्सालले मन्तव्य राखेका थिए । मन्तव्य राख्ने क्रममा खेलाडी लम्सालले कतारवासी तमूहरुले खेलाडीहरुको पहिचान र सम्मान गर्ने जुन तौर तरिका अपनाउँछन् त्यसबाट आफू प्रभावित भएको र यसको सिको अरु संघसंस्थाले पनि गरेमा नेपाली खेलाडीहरुको प्रगति हुन कुनै गाह्रो छैन भनि बताए ।
स्मरण रहोस्, सन् २००८ मा स्थापना भएको तमू खेलकुद समिति कतारले सोही वर्ष कतारमा बृहत खेलकुद मेला भव्यताका साथ सम्पन्न गरेको थियो । आजको मितिसम्मको अवस्थालाई नियाल्दा कतारमा नेपाली समुदायमा उक्त खेलकुद मेला नै सम्भवत सबैभन्दा ठूलो प्रतियोगिता थियो । विगतका वर्षहरुमा पनि खेलकुद क्षेत्रमा यस समितिका खेलाडीहरुले सफलता प्राप्त गरेका थिए ।
तमू समाज कतारको संरक्षकत्वमा स्थापित शाखा संस्थाहरु तमू सांस्कृतिक परिवार, तमु खेलकुद समिति, पे तॉ लु तॉ समिति, पुर्वाञ्चल सम्पर्क समिति, पश्चिमाञ्चल सम्पर्क समितिका पदाधिकारीहरु सल्लाहकार समितिका सदस्यहरु लगायत कतारवासी तमूहरुको उल्लेखनिय रुपमा उपस्थित भएका थिए भने खेलाडीहरुको सम्मानमा रात्रीभोजको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थित सहभागिहरुलाई समाजका प्रथम उपाध्यक्ष कृष्ण तमूले मन्तव्यबाट स्वागत गरेका थिए भने तमू समाज कतारका सल्लाहकार जगन तमूले कार्यक्रम संचालन गरेका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





